राष्ट्रपति पौडेललाई महामन्त्री थापाको आग्रह : नागरिक राष्ट्राध्यक्ष बन्नुहोला

काठमाडाैं | फागुन २६, २०७९

राष्ट्रपति पौडेललाई महामन्त्री थापाको आग्रह : नागरिक राष्ट्राध्यक्ष बन्नुहोला

काठमाडौँ:  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रपति पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताए । 

 

‘नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, सँगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’

 

संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनी भन्छन्,  ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’

 

उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’  महामन्त्री थापाले  भने ।

 

राष्ट्रपति पौडेललाई  अब नेपाली कांग्रेसको मात्र होइन सबैको अभिभावक बन्न उनको आग्रह छ ।  उनले लेखेका छन् ,‘दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ । कुनैपनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’

 

यसअघि राष्ट्रपतिको सम्मानका लागि सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्‌डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न थापाले सुझाए ।  ‘राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं,’ उनले भनेका छन् ।

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...

थप पढ्नुहोस्

कास्की:    धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।    उत्तरतिर लस्करै ...

थप पढ्नुहोस्